नेपालमा स्वाइन फ्लू विरुद्ध उच्च सतर्कता
July 1, 2009 at 11:34 am Leave a comment
विश्वका एकसय भन्दा बढी देशमा फैलिसकेको सुंगुरबाट सर्ने रूघा जस्तो एकप्रकारको रोग, स्वाइन फ्लूका तीनजना बिरामी नेपालमा भेटिएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले उच्च सतर्कता अपनाएको बताएका छन्।
अमेरिकाबाट नेपाल आएका एकै परिवारका तीनजना सो रोगबाट संक्रमित भएको पुष्टि भएपछि उनीहरुलाई छुट्टै राखी उपचार भइरहेको छ।
स्वाइन फ्लूका बिरामीहरुको पहिचान गर्नको निम्ति त्रिभुवन विमानस्थल र प्रमुख सीमा नाकाहरुमा थप स्वास्थ्यकर्मीहरु खटाइएको अधिकारीहरुले जनाएका छन्।
व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक २५ सय देखि ३,००० यात्रु विदेशबाट नेपाल प्रवेश गर्ने गर्छन्।
‘हेल्प डेस्क’
दुई महिनाअघि स्वाइन फ्लूको महामारी देखापर्ने बित्तिकै विमानस्थलको अध्यागमन डेस्क संगै स्वाइन फ्लूको निगरानी र त्यसबारे जनचेतना जगाउन हेल्प डेस्क राखिएको थियो।
मुखमा मास्क लगाएर यात्रुहरुको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्न व्यस्त एकजना चिकित्सक डाक्टर ईश्वर उपाध्यायका अनुसार नेपालमा स्वाइन फ्लूका बिरामी भेटिएकाले थप सतर्कता अपनाइएको हो।
“हामी शंकास्पद व्यक्तिहरुको तापक्रम नाप्छौं र फ्लूको लक्षण देख्ने बितिक्कै एक्ल्याइहाल्छौं।”
अमेरिकाबाट आएका फ्लूका बिरामीहरुलाई पनि छुट्टै राखेर उपचार भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आउने, रुघा लाग्ने, घाँटी दुख्ने समस्याबाट ग्रस्त भएर निको नभएका मानिसहरुलाई तुरुन्तै सरुवा रोग अस्पताल गइ जचाउन अनुरोध गरेको छ।
ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर सेनेन्द्रराज उप्रेतीका अनुसार थप स्वाइन फ्लूका केसहरु पत्ता लगाउन भारत र चीनसंगका सीमा नाकाहरुमा पनि हेल्थ डेस्क स्थापना गर्ने काम भइरहेको छ।
जनचेतना
विज्ञहरुका अनुसार स्वाइन फ्लू श्वासप्रश्वासबाट सर्ने भएकाले संक्रमतिहरुले हाच्छिउँ गर्दा, सिंगान पुछ्दा वा थुक्दा नजिकै रहेका मानिसहरुलाई सो रोग सर्न सक्छ।
उनीहरुका अनुसार स्वाइन फ्लू रोग फैलन नदिन रोगीहरुलाई आफन्तहरुले घेर्नु पनि हुँदैन र रोगीलाई एक्लै राखेर उपचार गर्नु पर्छ।
उप्रेतीले भने, “स्वाइन फ्लु लागेका ९९ प्रतिशत विरामी मर्दैनन्। बेलैमा उपचार गरे यो रोग निको हुन्छ।”
तर विज्ञहरुको चिन्ता छ आउने हिउँद याममा फ्लू रोगको संक्रमण बढ्न सक्छ।
महाशाखाका अर्का डाक्टर मानस बनर्जीले भने “हामीले त्यसकालागि सामुदायिक तहमा जनचेतना बढाउने र क्षमता अभिबृद्धी गर्ने जस्ता तयारी गर्दै छौं।”
Entry filed under: समाचार हरु.
Trackback this post | Subscribe to the comments via RSS Feed